
माघ ८ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरीमा निर्माणको काम रोक्न भनेर आफूहरुलाई पत्र नदिएको दाबी गरेका छन् ।
पुरातत्वले महानगरमा पत्र नपठाई सुरुमा मिडियाबाजी गरेको उनको भनाइ छ ।
‘‘पहिला सञ्चारमाध्यमलाई जानकारी गराएर असहजता पैदा गरेको काम गलत छ,’’ उनले भने, ‘‘निर्माण व्यवसायीले काम ढिलो गरेकै हो । निर्माण व्यवसायीलाई पटक–पटक समयमा पोखरी पुनर्निर्माणको काम सकाउन निर्देशन दिएकै हो । तर, अहिले विभिन्नखालका आरोप लगाएर काममा अवरोध ल्याइएको छ । पुनर्निर्माणका सम्बन्धमा छिट्टै पत्रकार सम्मेलन गरी सत्यतथ्य जानकारी दिने छौँ ।”
उनले विघटित प्रतिनिधिसभाका सांसद् गगन थापा, सो क्षेत्रका पुराना विज्ञ, संरक्षणकर्मी, ज्येष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैको सहमतिमै काम अघि बढाएको दाबी गरे ।