
७ माघ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका छन् ।
नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको हो ।
हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।
बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने छ । त्यसपछि आजको बैठक स्थगित हुने छ । अर्को बैठकको मिति सभामुखले तोक्ने छन् ।
नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । यसैगरी प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।
प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो ।