
ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबाररातिको बाढीमा परेर हराइरहेकामध्ये सात जनाको शव फेला परेको छ ।
बाढीले बागलुङको ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ । डीएसपी राजेन्द्र रेग्मीले बाढीमा बेपत्ता भएका सात जनाको शव भेटिएको पुष्टि गरे ।
शव भेटिएकीमध्ये एक जना ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया पुन रहेकी छन् । अन्य छ जना पुरुषको सनाखत भएको छैन । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको रेग्मीले बताए ।
बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी बि.क., १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।
यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् । भण्डारीसँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेना र सशस्त्रको टोली पुगेर घटनास्थलमा उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । बाढीका कारण सबै ठाउँमा सवारी अवरुद्ध भएको जानकारी उनले दिए । हेलिकप्टरमार्फत उद्धारको पहल भइरहेको उनले बताए ।
बाढीले सडक छेउमा पार्किङ गरेर राखेकोे जीप, दुई वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वती र जनचेतना आधारभूति विद्यालयका भवन पनि बगाएको न्यौपानेले बताए ।