Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

पौष २५। सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।
पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको बताउँछिन् । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भनिन् ।
जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगैंचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताए । “बगैँचामा सुन्तलाका दुई हजारभन्दा बढी बोट छन् अहिले ग्रिनिङका कारण १५० भन्दा बढी बोट सुकेका छन् । यो रोग छिटो फैलिने हुँदा पनि उत्पादिन लिने बेला चिन्तित बनाउन थाल्यो”, उनले भने । गत वर्ष रु २७ लाख बढीका सुन्तला बिक्री गरेकामा यो वर्ष रु सात लाख ननाघ्ने अवस्था रहेको उनको भनाइ छ ।
सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए । “जलवायु परिवर्तनको कारणले पनि होला सुन्तलाका बोट सुक्न थालेका छन् भने फल पनि राम्ररी लागेको छैन । बोटको तलतिर सुक्दै जान थालेपछि सुन्तला उत्पादन घटन थालेको छ”, डाँगीले भने । जिल्लाका सुन्तला पकेट क्षेत्रको रुपमा रहेका धेरै स्थानमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । “सुन्तलामा यो रोग देखा परेपछि गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ”, बस्नेतले भने । यो रोगको उपचार नहुने भएकाले पनि ठूलो समस्याको रुपमा रहेको उनको भनाइ छ । “जलवायु परिवर्तनका कारण अहिले सुन्तला तल्लो क्षेत्रतिर विस्तारै यो रोगको कारण सुक्दै गएको र अलि चिसो क्षेत्रतिर भने सुन्तला राम्रो हुँदै गएको छ”, बस्नेतले भने ।
यो रोगका काराण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।
“असोज महिनामा बढी पानी परेका कारण सुन्तलामा रस बढी भएको कारणले पाक्न ढिला भएको र बजारमा भारतीय सुन्तला आइसकेको हुनाले यो वर्ष सुन्तलाले त्यति मूल्य पाउन नसक्ने अवस्था छ”, सूचना अधिकारी बस्नेतले भने । गत वर्ष औसतमा रु ५१ प्रतिकेजी मूल्य रहेकामा यो वर्ष रु ४० प्रतिकेजीसम्म आउने उनको भनाइ छ ।
सल्यानका बागचौर नगरपालिकाको ८ र ९ छत्रेश्वरी गाउँपालिकाको १ र २ र त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा करीब ७५० कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । लटरम्म पाकेर पहेंलै भएका सुन्तलाका बगैँचा अब यो रोगको नियन्त्रणको उपाय अपनाउन नसकिए केही समयमै उजाड बाँझो बस्तीमा परिणत हुने निश्चित छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय