
पौष १७ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छन् । थनेत प्लानेट फार्मको आज शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
पुँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै उनले पुँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य जोडिनुपर्ने बताइन् । ‘‘अब सबै मान्छे श्रममा नजोडिईकन पुँजीको विकास गर्न सकिँदैन । पुँजीको विकास गर्दै समाजवादमा जोडिने हो,’’ अर्यालले भनिन्, ‘‘पुँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’’
श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्ति विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘‘विगतमा श्रम गर्ने, खेती(किसानी गर्नेलाई सम्मान गर्ने चलन हामीकहाँ थिएन । तर, अब त्यो सोच बदलौं । श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौं । श्रम गर्ने मान्छेलाई उत्साही बनाउन सिकौं ।’’
विदेश गएर फर्किएका धेरै युवा अहिले व्यावसायिक रुपमा कृषि कर्ममा लागेको बताउँदै उनले अब स्वदेशमै रहेर बेरोजगार रहेका युवाहरुलाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन् ।