Nepali Unicode | Preeti to Unicode

पौष १६ । संसद् विघटनसँगै देखिएको राजनीतिक घटनाक्रमको प्रभावलाई पार लगाउँदै नेप्सेले एक महिनाअघिको रेकर्ड तोडेर नयाँ उचाइ कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से २५।२१ अंकले बढ्दा २०८७।२७ अंकमा बन्द भएको छ ।
जुन नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि मंसिर ११ गते नेप्सेले ५३ महिनाअगाडि रेकर्ड ब्रेक गर्दै अगाडि बढेको थियो । २०७३ असार १२ गते १८८१।४५ अंकसम्म पुगेको नेप्से त्यसपछि १०० अंकको विन्दुसम्म झरेको थियो ।
तर लकडाउनसँगै ३ महिनाभन्दा लामो समय बन्द भएर असार मध्यबाट खुलेको नेप्सेले त्यसयता लगातार उकालो लाग्दा नयाँ नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ । यही मंसिर १७ गते २०७१।०३ अंकसम्म पुगेको थियो । त्यसपछि लगातर उतारचढाव देखिएको नेप्से आज बिहीबार उक्त रेकर्ड ब्रेक गर्दै अगाडि बढेको छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार करिब साढे चार अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम साढे पाँच अर्ब नाघेको छ । आज ५० हजार ३८६ वटा कारोबारमा २०७ कम्पनीको एक करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ७० करोड ३४ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
निर्जीवनबाहेक सबै समूहका सूचक सकारात्मक हुँदा बैंकिङ सूचकले बजारलाई लिड गरेको छ । व्यापार समूहको सूचक सर्वाधिक ८।८९ प्रतिशतले वृद्धि भए पनि बजारलाई लिड गर्ने बैंकिङ सूचक १।९७ प्रतिशत र अन्य समूहको सूचक १।४५ प्रतिशतले बढेको छ । निर्जीवन बिमाको सूचक भने १।०१ प्रतिशतले घटेको छ ।
एभरेष्ट, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सिद्धार्थ बैंकको सेयर मूल्य तुलनात्मक रुपमा वृद्धि हुँदा बैंकिङ सूचक पनि बढेको हो । कारोबार रकमका आधारमा भने बजारको नेतृत्व हिमालयन डिस्टिलरीले गरेको छ । कम्पनीको करिब ४७ करोडको कारोबार हुँदा नेपाल लाइफको ३७ करोड र नागरिक लगानी कोष र नेपाल दूरसञ्चार कम्पनीको साढे २८ करोडभन्दा माथिको कारोबार भएको छ ।
आज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एभरेष्ट बैंकको ६।६७ प्रतिशत, गुडबिल फाइनान्स र लक्ष्मी बैंकको करिब ६ प्रतिशत र सिद्धार्थ बैंकको पनि साढे ६ प्रतिशतमाथिले सेयर मूल्य बढेको छ । नारायणी विकास बैंकको सेयर मूल्य भने सर्वाधिक ३।७८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय