
काठमाडौं, मंसिर ११ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो दलका संघीय संसद (जनप्रतिनिधि) लाई दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्न आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विहिबार पार्टी महासचिवको नाममा पत्र लेख्दै सो आग्रह गर्नुभएको हो ।
गत कात्तिक ३ र ४ गते बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशैं भत्ताबापत प्राप्त भएको भत्ता कोभिड १९ संक्रमितको सहयोगार्थ फिर्ता गर्ने निर्णय गरेको थियो । कोभिड १९ संक्रमितको उपचारका लागि सरकारले कोभिड उपचार कोष खडा गरेको छ ।
प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले सो कोषमा कात्तिक महिनासम्मको आफ्नो पारिश्रमिकको ५० प्रतिशत रकम जम्मा गरिसक्नुभएको छ । त्यस्तै, सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदहरुले दशैं भत्ताबापत प्राप्त गरेको रकम सो कोषमा फिर्ता गर्नेक्रम जारी छ ।